समर्पण

समर्पण - कविता 

समर्पण Samarpan Ujjwal Timalsina

तिमीलाई याद छ हामीले भोक र निन्द्रा नै साटेका दिनहरु ?

तिमीलाई याद छ दुःखका आँशु र खुशीका हाँसो साटेका दिनहरु ?

तर समय सधैँ कहाँ एउटै हुन्छ र है ?

 

आकाश गर्जिएसँगै बर्षिएका पानीका थोपाहरुले 

तिम्रा ति यादहरुलाई ताजा बनाईदिएका छन् 

काश,

ति यादहरु खुशीका हुन्थे,

काश

ति यादहरु सुनौला पलका हुन्थे

तर अफसोस,

ति यादले आँशु ताजा बनाउँछन्

ति यादहरुले विछोड ताजा बनाउँछन्

घाउ बल्झाउँछन् अनि आँशु वर्षाउँछन् 


मलाई कुनै पश्चाताप छैन अंह कदापि  छैन

तिमीसँग बिताएका कुनै पल, क्षण, दिन अंह केहीको पश्चाताप छैन 

किनकी ति पलहरुमा हिजो खुशी जोडिएका थिए 

हिजो हर्ष जोडिएका थिए 

अनि सायद जीवनको अंश जोडिएका थिए 


म अझै सम्झन्छु,

कति खुशी थियौँ हामी जब सँगै थियौँ

हामीले साट्न बाँकी केहि रहेन 

खुशी साट्यौँ दुःख साट्यौँ

एक अर्काको मन नै साट्यौँ

तिमीलाई याद छ हामीले भोक र निन्द्रा नै साटेका दिनहरु ?

तिमीलाई याद छ दुःखका आँशु र खुशीका हाँसो साटेका दिनहरु ?

तर समय सधैँ कहाँ एउटै हुन्छ र है ?

मौसम बद्लिनुअघि तिमी बद्लियौै

र एउटा कहालीलाग्दो कहानीले जन्म लियो । 


सँगै रहँदा खै कुन्नी के दिन छुट्यो तिमीलाई ?

आज साथ छैनौ

र यी भावनाका शब्दहरुको समर्पण तिमीलाई । 


समय सधैँ उस्तै हुँदैन, बुझ्छु म 

जसरी समय बदलिन्छ 

त्यसरी तिम्रा चाहानाहरु बद्लिनु तिम्रा लागि सामान्य भए ।

तिम्रा चहानाले तिमीलाई तिम्रा छुट्टै गन्तव्यहरुतिर डोर्याउदा

मौन बस्न वाध्य छु म।


यी मौनता भित्र गुम्सिएका शब्दहरु अनि भावनाहरु 

सायद म भित्रै गुम्सिरहनेछन् ।

सधैँभरी ।।। 


हिजो हामी हिड्ने बाटोहरु अझै प्रतीक्षा गर्दै छन् 

हामी दुई फेरी सँगै हिड्ने आशमा 

हाम्रा पाईलाहरु अझै आश गर्दै छन् 

त्यहि पाईलामा हामी फेरी हिड्छौँ भनेर 

हिजो हामी भिजेका बर्षाथरु अझैपनि

हामी सँगै रुझ्ने आशमा बसेका छन्

हिजो हामीले सँगै साँचेका सपनाहरु कुर्दै छन् 

हामी दुवै आएर उसलाई पुरा गर्ने आशमा 

तर सबै आशाहरु निराशामा बदलिएको कसरी सुनाऊँ म? 


जानेबेला तिमीले, “मलाई अरु कोहि मनपर्छ“ भनेको सम्झन्छु

हामीमध्ये एक ले त्याग गर्नुपर्ने’थ्यो 

या त तिमीले तिम्रो माया त्याग गर्नुपर्थ्यो 

या त मैले मेरो माया त्याग गर्नुपर्थ्यो ,


तिमी त तिमी भैहाल्यौ 

पाउनुमात्र माया होईन गुमाउनु पनि माया हो सम्झेर 

मैले तिमीलाई त्याग गरिदिएँ ।

म त को नै हुँ र ?

जसको कारण तिमीले मलाई छोडेर गयौ,

उसकै कारण तिमीले रुनु नपरोस् ।


थाहा छैन कहिले बुझ्छ्यौ तिमीले म र मेरा त्यागहरुलाई 

तिम्रो खुशीका लागि मेरा त्यागहरुको समर्पण तिमीलाई ।।

0 Comments