सबै सधै सँगै कहाँ रहन्छन र ?


Sabai Sadhai Sangai Kaha Rahanchan Ra?-Nepali Poem

 सबै सधै सँगै कहाँ रहन्छन र ? 

सबैको आफ्नो आफ्नो जिन्दगी,

आफ्नो आफ्नो भोगाई

आफ्नो आफ्नो व्यथा अनि

आफ्नै आफ्नै कथा पनि 

त्यसैले न यहाँ कोही कसैले भनेको सुन्ने वाला छ

न कोहि कसैले भनेको मान्ने वाला छ 


हरेकको जिन्दगीमा आफ्नो, आफैले बनाएको गन्तव्य हुन्छ 

आफैले बनाएका बाटोहरु पनि

यो यात्रामा अनेक मान्छे भेटिन्छन् पनि छुटिन्छन् पनि ।।


कोही आउँछन्, सुमधुर याद दिएर जान्छन्

कोहि आउँछन् सुमधुर याद लिएर जान्छन्

कोहि हुन्छन् लामो समयसम्म सँगै यात्रा गर्छन्

नयाँ गन्तव्य भेट्छन्

र नयाँ बाटोतिर लाग्छन् ।

यो यात्रामा भेटिने हरकोही सहयात्री हुन्छ

र गन्तव्यसम्मै पुग्छ भन्ने छैन 

बटुवा पनि हुन सक्छन् 

यो यात्रामा हामी यस्ता मान्छे पनि भेट्छौँ

जसको हामी केवल याद मात्र बटुल्न सक्छौँ

यस्तो मान्छे, जसलाई कहिल्यै

आफ्नो भन्न पाईदैन तर मनले मान्दैन 

हेरिरहन मन लाग्छ, बोलिरहन मन लाग्छ 

तर सधैं सबैले चाहेको कुरा कहाँ पुग्छ र ? 


सम्बन्धहरु टुटाउन कति सजिलो हुन्छ है ?

टुटाउने बेला, उसले जोड्ने बेलाका संघर्ष याद गर्दैन 

माया गर्छु भन्नेहरुले त,

परिस्थिति जस्तोसुकै आवोस्

बरु सँगै बस्छु, झगडा गर्छु, रुन्छु, कराउँछु, चिच्याउँछु तर

कहिल्यै छुट्दिन  भनेर भन्नुपर्ने हैन र ?

तर जानेहरुलाई रोक्न कसले सक्छ र?

जानु छ भने, जानेहरु जनाका लागि अनेक बहान निकाल्छन्

चाहे तपाई बाच्नुस् वा मर्नुस्

जानेहरु कुनैपनि हालतमा जान्छन्


जानेहरु गएपनि तपाई खुशी हुन नछोड्नुस्

उसैलाई सम्झिएरै बग्ने आँशुमा खुशी खोज्नुस्

सँगै बिताएका पलहरु सम्झिएर खुशी खोज्नुस्

याद गर्नुस्, यादमै खुशी खोज्नुस्

तिता मिठा पुराना ति बातमा खुशी खोज्नुस् ।।


दु:खी किन हुने ?

तपाई दु:खी भएर तपाईको मान्छे फर्किएर आउनेवाला छ र?

आउँछ भने, तपाई दिनभरी रुनुस्, रातभरी रुनुस् 

यदि त्यसो हुदैन भने, उठ्नुस् व्यहोसीबाट

तपाई आफैबाट छरिएका टुक्रालाई बटुल्नुस्

एक गराउनुस्, समेटेर राख्नुस् किनकी

त्यहि टुक्रा भित्र रहेका उसका यादहरुमा 

रमाउनु छ तपाईलाई बाँकीका पलहरु ।।


तपाईसँगै रहँदा, तपाईँबिना बाँच्दिन भन्ने बाँचेका छन्

सधैँ सँगै बस्छु भन्नेले बाचा टुटाएक छन्

बिर्सनेहरुलाई त बिर्सन सजिलो छ 

बिर्सन्छन् सजिलै तपाईलाई

हो, तपाईलाई हरेक रात सुत्ने बेला 

भिजेका ति सिरानीले याद दिलाउनेछन्

एक्लोपनमा उसका बातले याद दिलाउनेछन्

वर्षौं बित्छ तपाईको यसरी

तर

यादमै भए पनि बाँच्नु त छ ।।


एक्लोपनले सताउँदा, आफैलाई आफ्नो साथी बनाउनुस्

आफै प्रश्न गर्नुस्, अनि आफै उत्तर दिनुस्

उसका शब्दहरु पनि भुल्दिनुस्

याद आउँछन् भने, आफै गल्ति गर्नुस् अनि 

आफैले आफैलाई सजाय दिनुस्

बाटोमा हिड्ने हरकोहिलाई ऊ सँग नदाज्नुस्

खुशी सबैसँग साट्नुस तर दु:ख आफैँभित्र सजाउनुस्

यहाँ आँशुको तालमा हाँस्नेहरु धेरै छन् ।।


आउने र जानेको क्रम चलिरहन्छ

तर तपाई आफुलाई टुक्रामा पुनःछरिन नदिनुस्

यो बुझ्नुस् कि आउने आउँछन र जानेहरु जादै गर्छन्

सबै सधैँ सँगै कहाँ रहन्छन् र ? 






0 Comments